२०८२ भाद्र १९, बिहिबार

धादिङको नीलकण्ठ र बेनीघाट रोराङ उत्कृष्ट

  • धादिङ आवाज
  • २०८२ भाद्र ६, शुक्रबार
धादिङको नीलकण्ठ र बेनीघाट रोराङ उत्कृष्ट

धादिङ। स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा यस वर्ष पनि धादिङका दुई पालिका उत्कृष्ट भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिका तर्फ बेनीघाट रोराङ गाउँपालिकालाई उत्कृष्ट घोषणा गरेको छ।

शुक्रबार एक कार्यक्रमका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले प्रतिवेदनसहित उच्च अंक प्राप्त गर्ने ३/३ वटा नगरपालिका र गाउँपालिकाको नाम सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकामध्ये धादिङको नीलकण्ठ नगरपालिका ९३.५ अंक ल्याएर पहिलो हुँदा चितवनको खैरहनी नगरपालिका ९२.७५ अंक सहित दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका ९१.७५ अंक सहित तेस्रो भएका छन् ।

यसैगरी गाउँपालिकामध्ये धादिङको बेनिघाट रोराङ गाउँपालिका ९१.७५ अङ्क ल्याएर पहिलो हुँदा गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तेस्रो भएका हुन् ।

उच्चतम अंक पाएका पहिलो भएका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले स्वमूल्यांकनको विषयमा आ–आफ्ना अनुभव तथा सिकाइ आदानप्रदान गरेका थिए ।

हालको कार्यविधिअनुसार विभिन्न दश वटा शीर्षकमा मूल्यांकन गर्छन् ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूको पहिचान गर्न सरकारले यो प्रणाली विकास गरेको हो ।

यसले पालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र जवाफदेही बनाउने अपेक्षा गरिन्छ ।यसबाट अन्य पालिकासँग पनि प्रतिस्पर्धात्मक क्षमताको विकास हुने ठानेर सरकारले नतिजालाई सार्वजनिक गर्न बाध्य पारेको छ ।

मन्त्रालयले देशभरीका ७५३ वटै स्थानीय सरकारको संस्थागत क्षमता मूल्यांकन गरेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस