त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।
तनहुँको देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका हुन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हिजो बेलुका नदीले बगाएर चितवनको भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता बालकको खोजी गरिरहेको छ ।
लामिछानेसँगै गएका भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार भएको हो ।