काठमाण्डौ । काठमाण्डौमा जेन जी को प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ ।काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा समेत गरी उनीहरूको ज्यान गएको हो ।
प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो ।
अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो ।
यस्तै इटहरीको सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको हो ।
अस्पतालहरूको विवरण अनुसार विभिन्न अस्पतालमा गरी ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ ।
अस्पतालहरूका अनुसार ज्यान गुमाउने र गम्भीर अवस्थाका धेरै घाइतेको टाउको र छातीमा गोली लागेको छ ।
जेन जीहरू सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई जेन जी पुस्ता भनिन्छ ।