काठमाडौं । बडादशैं एवं नवरात्रको आठौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।
आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ।
यस दिन मानिसहरूले आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। यसैगरी दशैंघर हनुमानढोकाको मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि दिइन्छ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ।
विशेषगरि आजका दिन पञ्चबलि दिने प्रचलन छ। पञ्च बलिमा बोका, रागाँ, परेवा, हाँस र भेंडा पर्दछन्। तिनीहरूमा हुने बिक्रित काम, अंहकार, मोह, मद र लोभ जस्ता गलत प्रवृतिको बलि दिनुपर्ने भाव ग्रन्थहरूमा उल्लेख छ।
यस्ता पशुत्व भाव हटाउन पञ्च बलिको प्रतिकात्मक उपाय निकालिएको कतिपयको भनाइ छ।