काठमाण्डौ । शुक्रबारदेखि अतिभारी अर्थात आरिघोप्टे बर्षाको सम्भावना रहेको मौसमबिद्ले बताएका छन् ।
मौसम पूर्वानुमान् महाशाखाले गएराति विशेष बुलेटिन निकालेर असोज १७ गते पर्सिदेखि भारी हुँदै अतिभारी बर्षाको संभावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान् महाशाखाले असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।
यस्तो वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पु¥याउने सम्भावना उच्च रहने जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो ।
उप्रेतीकाका अनुसार असोज २१ गतेसम्म पनि पानी पर्ने संकेत देखिएका छन् । असोज २१ गतेदेखि बेलुकादेखि भने प्रणाली कमजोर हुने र राति नेपालभर पानी पर्न रोकिने संभावना छ ।
भारतको मौसम बिभागले असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बङगाल, बिहार अत्यधिक बर्षाको चेतावनी जारी गरिसकेको छ ।
महाशाखाले गएराती निकालेको दशैँ विशेष बुलेटिनमा दशैँको टीकाको दिनदेखि त्रयोदशीसम्म पानी पर्ने भनेको छ ।महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने छ । त्यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । यस वर्ष अक्टोबर २ तारिख अर्थात् असोज १६ गते दशैंको टीका परेको छ ।
असोज १६ गते र त्यसपछि पनि मनसुन सक्रिय हुने भएकाले नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलाइ हुने देखिएको छ । नेपालमा यस अघि पनि मनसुन भित्रने र बाहिरिने मितीमा केही अघिपछि हुँदै आएको छ ।