
धादिङ । सदरमुकाम धादिङबेसीमा आज र भोलि नेवाः खाना उत्सव सुरु हुँदै छ ।
झिंगु नेवाः समाज धादिङले नेवार समुदायको संस्कृति, परम्परा र पहिचान प्रवर्धन गर्ने उद्देश्यले ‘हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो पहिचान’ भन्ने नारासहित दोस्रो धादिङबेसी सडक नेवाः खाना उत्सव आयोजना गरेको हो ।
उत्सवको आज दिउँसो १ बजे नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले उद्घाटन गर्ने कार्यक्रम रहेको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उत्सवमा स्थानीय जात्रा–पर्व, परम्परागत भेषभूषा तथा नेवारी नेवारी परम्परागत खानाका परिकार, सांस्कृतिक प्रस्तुतिहरू, समुदायको सांस्कृतिक पहिचान झल्काउने विविध कार्यक्रम हुने श्रेष्ठले बताउनुभयो ।
यस कार्यक्रममार्फत नेवार समुदायको परिकार र संस्कृतिप्रति युवापुस्ताको आकर्षण बढाउने अपेक्षा गरिएको झिंगु नेवाः समाज धादिङका सचिव सन्तोषराज श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार उत्सवमा १० वटा स्टल रहने र ति स्टलहरुमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाविन छोइला, वःलगायतका नेवारी परिकारहरुको स्वाद लिन पाइने छ ।
यस उत्सव धादिङबेसीस्थित बिचबजार चोकबाट त्रिवेणीचोक तर्फको सडकमा हुनेछ ।
