धादिङ । सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेभञ्याङमा सम्पन्न “स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा नुवाकोटको दुप्चेश्वर गाउँपालिका प्रथम भएको छ ।
आज मंगलबार नलाङ पात्ले माविको खेल मैदानमा भएको फाईनल खेलमा गोरखाको घले हार्वेस्टिङलाई ३-० को सोझो सेटमा पराजित गर्दै दुप्चेश्वर गाउँपालिका प्रथम भएको हो ।
यो सँगै प्रतियोगितामा प्रथम भएको दुप्चेश्वरले नगद १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको गोरखाको घले हार्वेस्टिङले नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
यस्तै तेस्रो भएको सिद्धलेक गाउँपालिकाले नगद ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो स्थानको लागि भएको खेलमा सिद्धलेक गाउँपालिकाले पन्चकन्या गाउँपालिका नुवाकोटलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
सोमबार सेमिफाईनल खेलमा पन्चकन्या गाउँपालिका नुवाकोटलाई २-१ को सेटमा पराजित गर्दै घले हार्वेस्टिङ गोरखा फाईनल प्रवेश गरेको थियो भने धादिङको सिद्धलेक गाउँपालिकालाई २-१ को सेटमा पराजित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका फाईनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी दुप्चेश्वरका राजिव कँडेल, उत्कृष्ट स्पाइकर सिद्धलेकका अमर थापा मगर, उत्कृष्ट सेटर दुप्चेश्वरका मिन बहादुर तामाङ, उत्कृष्ट सर्भर दुप्चेश्वरका पुस्कल थापा, उत्कृष्ट डिफेन्डर घले हार्वेस्टिङका सुरेश बराम र उत्कृष्ट कोच दुप्चेश्वरका विक्रम थापा घोषित भएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष एवं नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङ (तिलक) ले धादिङ आवाजलाई जानकारी दिनुभयो ।
उनिहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल, नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, सिद्धलेकका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा नं १ का वडाध्यक्ष पेमा लामा, वडा नं २ का वडाध्यक्ष शम्भु गुरुङ, वडा नं ३ का वडाध्यक्ष देव पुलामी, वडा नं ७ का वडाध्यक्ष सानो गिरी,तमु युवा समाजका अध्यक्ष दिपक गुरुङ, प्रतियोगिताका संयोजक सुन्दर गुरुङ लगाएतले पुरस्कार वितरण गरेका थिए ।
तमु युवा समाज सिद्धलेक-२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा १७ गतेदेखी सुरु भएको प्रतियोगितामा धादिङ, गोरखा, नुवाकोट र रसुवाका गरी १४ टिम सहभागी थिए ।
प्रतियोगितामा धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ को सहयोग रहेको थियो ।
तमु युवा समाजले हरेक बर्ष नेपालीहरुको महान चाड दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।गत बर्ष देखी भने स्व.लोक बहादुर गुरुङ स्मृती कप सुरु गरेको हो ।
तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका पूर्वअध्यक्ष एवम नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहनुभएका लोक बहादुर गुरुङको सवारी दुर्घटनामा परी निधन भएको थियो ।
उहाँको सम्झनामा स्मृती कपलाई निरन्तरता दिईएको आयोजकले जनाएको छ ।