
धादिङ । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिका-७ मा अवस्थित सुनौलो भैरवी माध्यामिक विद्यालयकी सञ्जिवनी पाेखरेल प्रथम भएकी छिन् ।
अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको प्रतियोगितामा धादिङबेशीको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयकी इशा थापा द्धितिय, गल्छी गाउँपालिकाको सक्सेस एकेडेमीका सुचना अधिकारी तृतिय र त्रिपुरासुन्दरी गाउँपालिकाको सुन्दरी माध्यामिक विद्यालयकी सन्ध्या विक चौथो र थाक्रे गाउँपालिकाको हरिहर भोजकुमारी माध्यामिक विद्यालयकी समृद्धि रुपाखेती पाँचौँ भएकी छिन् ।
प्रतियोगितामा सुनौलो भैरवीकी पोखरेल र नीलकण्ठ बालमन्दिरकी थापा दुबैजनाको अंक समान भएपछि आयोजकले गोला प्रणाली बाट प्रथम,द्धितिय छुटाईएको थियो भने त्रिपुरासुन्दरीकी सन्ध्या र थाक्रेकी समृद्धिको पनि अंक बराबर भएपछि गोला प्रणालीमार्फत नै निर्णय गरिएको थियो।
प्रथम, द्धितिय, तृतिय, चौथो र सान्त्वना विद्यार्थीहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
युवा पुस्ताको चाहना : असल नेतृत्व र इमान्दार राजनिति शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा धादिङका १३ वटै स्थानीय तहहरुबाट छनौट भएका ३२ जना विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगिताले विद्यार्थीहरुमा क्षमता अभिवृद्धिका साथै आत्मविश्वास बढाएको समाजका अध्यक्ष राजन खकुरालले बताउनुभयो ।
