
धादिङ । उत्तरी धादिङमा चल्ने संयुक्त यातायात प्रालिका सवारी साधनहरूले यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ ।
खनियाँबास गाउँपालिका–१ पेर्चो देखि धादिङबेँसीसम्म चल्ने सवारीहरूले हजार रुपियाँको टिकट काटेर १ हजार पाँच सय रुपिया लिदै आएको यात्रुहरुले गुनासो गरेका छन् ।
चाडपर्वको समयमा भन्दै बढी भाडा लिदै आएको संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले दशै सकिएर दिपावली लाग्नै लाग्दा समेत महंगो भाडा असुल्दै आएको सुवम तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो,चलानीमा १ हजार रुपैयाँ लेखिए पनि १ हजार पाँच सय रुपियाँ भाडा असुल्ने गरेका छन्’,‘केही दिन त चाडपर्वको समय भएर होला भनेर चुप बस्यौं । तर हिजो आज पनि ५० प्रतिशत बढी भाडा असुली रहेका छन् । यात्रुलाई मारमा पारेका सवारी साधनलाई सरोकारवाला निकायले कानुनी दायरामा ल्याउन आवश्यक छ ।’
सरोकारवाला निकायलाई पटक–पटक यात्रु मारमा परेको गुनासो गरेपनि सुनुवाई नभएको गजेन्द्र तामाङले बताउनुभयो ।
यात्रुहरुले गुनासो गरिरहदा धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भने बढी भाडा असुल्ने सवारी साधनलाई कारवाही गरिरहेको बताउनुभएको छ ।
धादिङको दुर्गम क्षेत्रमा चल्ने सवारी साधनहरुमा पनि बढी भाडा असुल्ने गरेको गुनासो आएको छ । तोकिएको भन्दा बढी भाडा असुलेको पाइएमा कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
चाडपर्वको समयमा क्षमता भन्दा बढी यात्रु समेत चढाउदै आएको यात्रुहरुले गुनासो गुनासो गरेका छन् । उत्तरी धादिङमा चल्ने प्रायः सवारी साधनहरुमा जोखिमपूर्ण यात्रा गर्न यात्रुहरु बाध्य छन् ।
क्षमता भन्दा बढी यात्रु चढाउने, सवारी साधनको छतमा समेत यात्रा गर्ने, बोलेरो तथा ट्रक जस्ता सवारी साधनहरुमा समेत यात्रु बोक्ने समस्या विद्यमान बनेको छ ।
