काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले अब यूएई, कतार, ओमान र सामोआसँग खेल्ने भएको छ ।
हिजो भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराउँदै समूह विजेता बनेर नेपाल सुपर सिक्समा पुगेको हो ।
नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए । कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ ।
सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्। जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ ।
अब नेपालले जापानसँग सुपर सिक्समा खेल्न पर्ने छैन । अब नेपालले सुपर सिक्समा भोलि समूह ‘ए’ को विजेता यूएई र पर्सी उपविजेता कतारसँग खेल्नेछ ।
यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर सिक्समा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।