
काठमाण्डौ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले देशको पूर्वी तथा मध्य क्षेत्रका धेरै ठाउँमा गएरातिदेखि पानी पर्न थालेको छ ।
यसको प्रभावले पर्सि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै भरे राति कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्विनी प्रदेशका धेरै ठाउँहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
