
धादिङ । नीलकण्ठ नगरपालिका-१२ स्थित सांकोष माध्यमिक विद्यालयमा अध्ययनरत ४७ जना जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको छ।
नेपाली कांग्रेस धादिङका जिल्ला सदस्य एवं Trekking Agencies’ Association of Nepal (TAAN) का केन्द्रीय सदस्य, सफल पर्यटन व्यवसायी तथा शिक्षाप्रेमी समाजसेवी राजु गुरुङ र ताइवानी नागरिक मिस चाङ यु फाङ (Amy)को संयोजनमा विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको बिद्यालयका शिक्षक सुरेश अर्यालले जानकारी दिनुभयो ।
विद्यार्थीलाई रु ११ हजार नगद,स्टेशनरीका सामग्रीहरू, छात्रा विद्यार्थीलाई सेनिटरी प्याड वितरण गरिएको शिक्षक अर्यालले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा पर्यटन व्यवसायी राकेश धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका-१२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) को प्रमुख आतिथ्यता तथा विद्यालयका पूर्व वि.व्य.स सदस्य तथा शि.अ.स अध्यक्ष टंक प्रसाद धमलाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश धमलाले ताइवानी र मलेसियाली नागरिकको प्रशंसापत्र विशेष अतिथि राजु गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै वडामा शिक्षा क्षेत्रमा सहकार्यका माध्यमबाट निरन्तर काम भइरहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक राम प्रसाद लामिछानेले यस्तो छात्रवृत्तिजन्य सहयोगले विद्यार्थीहरूको अध्ययन उत्साह बढाउने र विद्यालयको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन विद्यालयका सूचना अधिकारी गोबिन्द कोइरालाले गर्नुभएको थियो ।कार्यक्रममा अभिभावक, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

