
काठमाण्डौ । देशका पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा वर्षा भैरहेको छ ।आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक,दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
पर्सि शनिबारसम्म नै वर्षा र हिमपात हुने तथा यसबाट दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
