२०८२ कार्तिक २९, शनिबार

नेकपा एमाले धादिङद्धारा धादिङबेसीमा बृहत जनप्रदर्शन

  • धादिङ आवाज
  • २०८२ कार्तिक २९, शनिबार
नेकपा एमाले धादिङद्धारा धादिङबेसीमा बृहत जनप्रदर्शन

धादिङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले नेपाली कांग्रेसलाई ‘न भाले न पोथी’को संज्ञा दिनुभएको छ ।

संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनःस्थापनाको विषयमा नेपाली कांग्रेसले अझै प्रष्ट धारणा बनाउन नसकेको तथा सडकमा उत्रिन नसकेको विषयलाई व्यङ्ग्य गर्दै भट्टराईले नेपाली कांग्रेसलाई “तपाईंहरू भाले हो कि पोथी ?” भन्दै प्रश्न गर्नुभएको हो ।

शनिबार नेकपा एमाले धादिङले धादिङबेसीमा आयोजना गरेको बृहत जनप्रदर्शनलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य भट्टराईले एमाले चुनावसँग कहिल्यै नभाग्ने भन्दै असंवैधानिक सरकारले चुनावको वातावरण नबनाई जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

नेता भट्टराईले देशलाई सही बाटोमा लैजान अहिले एमालेमात्र विकल्प रहेको दाबी गर्दै, सुशिला कार्की नेतृत्वमा बनेको वर्तमान सरकारले संविधानसम्मत हैसियत नपाउने टिप्पणी गर्नुभयो ।

संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनःस्थापनाको मागसहित एमाले धादिङले शनिबार धादिङबेसीमा शक्ति प्रदर्शन गरेको थियो।

जनप्रदर्शनमा हजारौँ कार्यकर्ता र समर्थक सहभागी थिए।

जनसभालाई पोलिटब्युरो सदस्य भट्टराईसहित केन्द्रिय सदस्य तथा धादिङ इञ्चार्ज खेमप्रसाद लोहनी, जिल्ला अध्यक्ष भूमि प्रसाद त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’ र सचिव राधिका सापकोटाले सम्बोधन गरेका थिए।

केन्द्रीय सदस्य तथा धादिङ इञ्चार्ज खेमप्रसाद लोहनीले संविधानको रक्षा र जनताको शासन व्यवस्थालाई मजबुत बनाउन एमाले विद्रोहमा निस्किएको बताउनुभयो । उहाँले टापटिपे आवाराहरूले देश चलाइरहेका छन् भन्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउनुभयो ।

एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले संविधान संशोधन संसद र प्रतिनिधिसभाले मात्रै गर्न सक्ने भएकोले प्रतिनिधिसभालाई व्युझाउन आवश्यक रहेको बताउनुभयो । चुनावमा जान वैधानिक सरकार बनाउन पनि भङ्ग भएको प्रतिनिधिसभा पुनस्थापना गरेर चुनावको मिति तोक्नुपर्ने दावी गर्नुभयो।

सचिव राधिका सापकोटा र अन्य वक्ताहरूले समेत संसद पुनःस्थापना, वैधानिक सरकार निर्माण र स्वच्छ चुनावका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा एमाले धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’ले जेलबाट फरार अपराधीहरूका हातमा पुगेका गोलीगठ्ठा फिर्ता गराई उनीहरूलाई कारबाही गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप लगाउनुभयो।

उहाँले सरकारले अपराध र आतंकलाई प्रसय दिँदै राजनीतिक दललाई कमजोर पार्ने प्रयास गरेको दाबी गर्नुभयो ।

कार्यक्रमका केही तस्विरहरु :

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस