
काठमाण्डाै । सोमवारदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
क्यानका महासचिव पारस खड्काले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो ।आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा भएको छ ।
यो संस्करणमा पुरस्कार रकममा घटबढ भएको छैन । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ ।
एनपीएलको उद्घाटन खेलमा पर्सि साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियाेगितामा जनकपुर, काठमाण्डाै, चितवन राइनाेज, कर्णाली याक्स, विराटनगर किङ्ग्स, पाेखरा एभेन्जर्स, सुदूरपश्चिम राेयल्स र लुम्बिनी लायन्स गरी ८ वटा टाेली सहभागी छन् । यस पटक एनपीएल फ्लडलाइटमा पनि खेलाइनेछ ।
प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुने छ । filephoto
