२०८२ पौष ४, शुक्रबार

वृद्ध महिलाको हत्या, एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ पौष ४, शुक्रबार
वृद्ध महिलाको हत्या, एक जना पक्राउ

धादिङ । सिद्धलेक गाउँपालिका–७ पोखरीमा ९२ वर्षीया वृद्ध महिलाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।

मंसिर ३ गते राति करिब ९ बजे ९२ वर्षीया पबिमाया घले आफ्नै घरको पिँढीमा टाउको फुटेको अवस्थामा मृत भेटिएकी थिइन्।

मृतकलाई उनका छोरा तथा स्थानीयहरूले मृत अवस्थामा फेला पारेपछि मंसिर ४ गते बिहान जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले विज्ञ चिकित्सकसहित घटनास्थल पुगेर मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य गरेको थियो।

प्रारम्भिक अनुसन्धानबाट उक्त घटनामा मृतककै छिमेकी, सिद्धलेक गाउँपालिका–७ पोखरी बस्ने ३३ वर्षीय आईतराम घलेको संलग्नता देखिएपछि उनलाई आजै घटनास्थल नजिकै रहेको आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

मृतक आमा आफ्नो छोरा बस्ने घरभन्दा माथिल्लो पट्टि रहेको छुट्टै घरमा एक्लै बस्दै आएकी र उनको खानपान तथा हेरचाह छोरा लिला बहादुर घलेले गर्दै आएको खुलेको छ।

पक्राउ परेका प्रतिवादी आईतराम घलेको घर पनि मृतकको घर नजिकै रहेको र उनी अविवाहित भई एक्लै बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा मृतक र प्रतिवादी नजिकका नातेदार नभए पनि दैनिकजसो भेटघाट गर्ने, हजुरआमा–नातीजस्तै सम्बन्ध रहेको खुलेको छ।

बिहिबार मृतकको घर फोहोर भएकाले मृतकका छोरा र प्रतिवादी मिलेर घर सफा गरेको, सो क्रममा प्रतिवादीले मृतकसँग रक्सी खानका लागि पैसा माग्ने गरेको तथा विगतमा दाउरा लगेको विषयमा विवाद रहेको विवरण पनि खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रतिवादी आईतराम घले ज्याला मजदुरी गर्ने, दैनिकजसो मदिरा सेवन गर्ने र छिट्टै आवेशमा आउने स्वभावको व्यक्ति रहेको पाइएको छ।

घटनाको राति आईतराम घले मदिराको नशामा मृतकको घर गई आवेशमा काठको चौपाटाले टाउकोमा प्रहार गरी हत्या गरेको र घटनास्थल छाडेको स्वीकार गरेका छन्।

घटनामा प्रयोग भएको काठको चौपाटा समेत घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

मृतकको शव जिल्ला अस्पताल धादिङमा पोस्टमार्टम पश्चात् उनका छोराले जिम्मा लिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत धादिङबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस