
धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले सूचनाको हक कार्यान्वयनमा आलटाल नगर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा आईतबार धादिङको गल्छी गाउँपालिकामा आयोजित सूचनाको हक प्रवर्द्धन सम्बन्धि अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सार्वजनिक निकायले सूचना लुकाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने भन्दै सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो ।
सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मात्र सुशासन, पारदर्शिता र नागरिकको विश्वास बलियो हुने भन्दै मन्त्री अधिकारीले प्रदेश सरकारले स्थानीय तहसम्म सूचनाको हकसम्बन्धी कानुनको कार्यान्वयन मजबुत बनाउने कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले नागरिकले सूचना माग गर्न हिच्किचाउन नहुने र सार्वजनिक निकायले कानुनअनुसार समयमै सूचना उपलब्ध गराउने दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले सूचनाको स्वतः प्रकाशन, सूचना अधिकारीको भूमिकाको प्रभावकारिता र सूचना माग प्रक्रियालाई सरल बनाउने विषयमा पनि धारणा राखेका थिए।
नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्दै सार्वजनिक निकायलाई थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सूचना पुनरावलोकन समितिले सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया गर्दै आएको छ ।
कार्यक्रममा सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, चुनौती तथा नागरिक र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत छलफल गरिएको छ ।
