
काठमाण्डौ । आगामी फागुन २१ गते तोकिएको चुनावका लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवार सूची बुझाएका छन् ।
दलहरुले आयोगमा समानुपातिकतर्फको उम्मेदवार सूची बुझाएसँगै चुनावको सुनिश्चितता बढेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतवार र सोमवार दलहरुले रातारात उम्मेदवारको बन्दसूची बुझाएपछि देश अब चुनावमा होमिएको छ ।
संसद पुनर्स्थापनाको बाटो हेरिरहेका एमाले र कांग्रेस लगायतका दलहरु पनि अब चुनावमा मात्रै केन्द्रित हुने बाटो खुलेको छ ।
दलहरुले अहिले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन आयोगले भोलिदेखि २० गतेसम्मको समय तोकेको छ ।
राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरेर पुस २१ गतेदेखि २७ पुसभित्र बुझाउनुपर्नेछ । निर्वाचन कार्यतालिकाअनुसार बन्दसूचीबाट कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहे पुस २८ गते निवेदन दिनुपर्नेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई आयोगले २९ गते गराउनेछ ।
यस्तै उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त रहेको ठाउँमा अर्को उम्मेदवारको नाम पठाउन पुस ३० गतेदेखि माघ २ गतेसम्मको समय तोकिएको छ ।
चुनावी कार्यतालिका अनुसार आयोगले माघ ४ गते बन्दसूचीको नामावली प्रकाशन गर्नेछ । दाबी विरोध र आवश्यक संशोधनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशन हुनेछ ।
