काठमाण्डौ । सरकारले समयमै खरिद गर्न नसक्दा देशभर अस्थायी परिवार नियोजनका साधनको अभाव भएको छ ।
खरिद प्रक्रियामा ढिलाइ भएकाले कन्डम, पिल्स, तीन महिने सङ्गिनी सुई, कपर–टी, नरप्लान्ट लगायत अस्थायी परिवार नियोजनका साधनको अभाव भएको स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागको भण्डारण केन्द्रमा कन्डम, सङ्गिनी सुई, कपर–टी, नरप्लान्ट जस्ता साधनको मौज्दात सकिएको लालले बताउनुभयो ।
यी साधनहरू सरकारले निःशुल्क वितरण गर्दै आएको छ।यस बेला समस्या हुनुको कारण अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) को सहयोग कटौती रहेको छ ।
अस्थायी साधनका लागि दातृ निकायमै भर पर्दै आएको र त्यसमा पनि यूएसएआईडीको सहयोग मुख्य रहेकाले परिवार नियोजनका साधान अभाव भएको डा.लालले बताउनुभयो ।