२०८३ भाद्र ७, आईतबार

कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध,आज रक्तदान हुने

  • धादिङ आवाज
  • २०८२ बैशाख २०, शनिबार
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध,आज रक्तदान हुने

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा शुक्रबार १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ ।आज शनिबार रक्तदान कार्यक्रम हुने भएको छ ।

यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि शुरु गरिएको छ। महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो।हवन कार्य जेठ २६ गतेसम्म चल्नेछ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार एक सय वटा हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटीहोममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।

कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।

हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन्  भने अरू मण्डपमा ३/३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजेसम्म चल्ने छ भने ११ देखि १ बजेर १५ मिनेटसम्म विश्राम भई पुनस् ४ बजेसम्म हवन कार्य हुनेछ ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।

उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो।

यसैगरी शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गर्ने खुला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने समूहलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई समूहलाई ६५/६५ हजार रहेको बताउनुभयो ।

प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ।

सम्पूर्ण प्रतियोगीलाई प्रतियोगितामा सहभागी भइदिन उहाँले आग्रह गर्नुभयो।कोटीहोममा भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन शुरु गर्नुभएको छ।

कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस