धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा न २ नलाङ ठाँटीभन्ज्याङमा स्थित सिद्धेश्वर माविमा ‘स्व.चुडामणी अधिकारी’ स्मृति अक्षयकोष स्थापना गरिएको छ ।
बिहिबार एक कार्यक्रमका बिच अधिकारीका परिवारले एक लाख एक हजार एक सय एघार रुपैयाँको छात्रवृत्ति अक्षयकोष घोषणा गरेका हुन् ।
वडा नं.२ तारनलाङ निवासी स्वर्गीय चुडामणी अधिकारीको २०८१।०२।१३ गतेका दिन ७८ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँको वार्षिक पुण्यतिथिको अवसरमा स्वर्गीय अधिकारी र उहाँकी धर्मपत्नी आत्मा कुमारी अधिकारीको सातजना सन्तानहरू गोकर्ण अधिकारी, बलराम अधिकारी, शम्भु अधिकारी, सरिता अधिकारी, लक्ष्मी अधिकारी, पुरुषोत्तम अधिकारी र प्रदिप अधिकारी ले पहिलो अक्षर शुभारम्भ गरी विद्यालय तह सम्मको अध्ययन पूरा गरेको सिद्धेश्वर मा.वि.मा अक्षयकोषको घोषणा गर्नुभएको हो ।
शुक्रबार वार्षिक पुण्यतिथिको संस्कार कार्यमा वडा न २ का वडाध्यक्ष शम्भु गुरुङको रोहवरमा चेक हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा सहभागी वडाध्यक्ष शम्भु गुरुङ, सिद्धलेक गापाका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवाल, साविक मैदी गाविसका पूर्व अध्यक्ष रामप्रसाद अधिकारी, सिद्धेश्वर मा.वि.का प्रधानाध्यापक हरि बहादुर सिलवाल, पूर्व शिक्षक एवम समाजसेवी टंकनाथ शर्माले शैक्षिक संस्थामा स्थापना गरिने अक्षयकोष माथि प्रकाश पार्नुका साथै स्वर्गीय अधिकारी को पटक पटक सम्झना गर्नुभएको थियो।
कार्यक्रमा सिद्धेश्वर मा. वि. का शिक्षकहरु, मिन्दुका मा. वि.का शिक्षकहरू, नेकपा एमाले सिद्धलेकका अध्यक्ष रामहरी बराकोटी, सचिव चेतनाथ सिलवाल, उपसचिव राजु उपाध्याय र लक्ष्मी बराम, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बेनि पाठक, जिल्ला कमिटी सदस्य इश्वरी अर्याल लगायतको उपस्थिति रहेको थियो ।