पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउनु हुने भएको छ ।
देवी प्रतिभाले जेठ १० देखि १६ गते सम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो ।
यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ ।
त्यसै गरी कोटिहोममा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासी आउनुस हुने भएको छ ।
जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका भागवत मञ्जरी राधिका दासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ।
नौ दिन सम्म महायज्ञमा श्रीमद् भागवत कथा वाचन गर्ने भागवत मञ्जरी राधिकादासीले वताउनुभयो ।मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीको समाजसेवा जोकोहीका लागि प्रेरणा बन्न सक्छ । उहाँले राष्ट्रिय तथा अन्तरष्ट्रिय स्तरमा कथा वाचन गरेर ख्याती कमाई सक्नुभएको छ ।उहाँको कथा वाचन शैलीले भक्तजनलाई मत्रमुग्ध वनाउछ ।
मानवसेवा फाउन्डेसनले ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन गरेको हो ।
कोटिहोममा विभिन्न जात जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले पनि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको छ ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा.तुलसी प्रभास खनालले जानकारी दिनुभयो ।
कोटिहोममा सोमबार वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, लोकदोहोरी गायक राजु ढकाल,लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए ।
आज हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो ।
कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ ।
कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।