सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनीमा रहेको मिन्दुका माद्यमिक विद्यालयले शिक्षण सिकाइ क्रियाकलाप अन्तर्गत नमुना निर्वाचन अभ्यास गरेको छ।
विद्यालयले शुक्रबार संघ, प्रदेश र स्थानीय तहको झल्को दिनेगरि बिद्यार्थीहरु लाई निर्वाचन प्रक्रिया र विधिहरुबारे जानकारी दिने उदेश्यले नमुना निर्वाचन कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक जनार्दन नेपालले जानकारी दिनुभयो ।
निर्वाचनबाट विद्यालयको नायक, सह-नायक निर्वाचनलाई संघीय निर्वाचन, चार ओटा हाउस निर्वाचनलाई प्रदेश निर्वाचन र कक्षाको नायक निर्वाचनलाई स्थानीय निर्वाचनको रुपमा बुझाउन खोजिएको उहाँको भनाइ छ।
निर्वाचनमा कुल १ सय ८४ मत खसेको थियो । जसमा ११ मत बदर भएको नेपालले बताउनुभयो ।
मतदानबाट विद्यालय नायकमा जतन घलेले खसेको १ सय ८४ मतमध्ये ९३ मत ल्याएर निर्वाचित हुनुभएको छ भने विद्यालय सहनायकमा सपना थापामगर विजयी हुनुभएको छ।
यस्तै रातो हाउसको नायकमा पुनम गुरुङ, सहनायकमा निरज श्रेष्ठ, हरियो हाउसको नायकमा एलिना थपलिया, सहनायकमा निश्चल तामाङ, निलो हाउसको नायकमा इला तामाङ र सहनायकमा दिपेश श्रेष्ठ र पँहेलो हाउसको नायकमा रमा श्रेष्ठ र सहनायकमा कमल प्रसाद पौडेल निर्वाचित हुनु भएको छ।
सरकारले गराउने संसदिय निर्वाचनमा मतदाता नामावली प्रकाशन, उम्मेदवारको मनोनयन दर्ता, निर्वाचन कार्यक्रम प्रकाशन, उम्मेदवारहरुको निर्वाचन प्रचारप्रसार, मतदाता शिक्षा, मतदानको समयमा महिला पुरुष छुट्टाछुट्टै लाइन, म्यादी प्रहरीको व्यवस्था, निर्वाचनको समयमा हुने विवाद र यसको समाधानका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन आचार संहिता, मतदान र मतगणना, मत परिणाम सार्वजनिक र मत परिणाम घोषणा जस्ता क्रियाकलाप गरिएको प्रधानाध्यापक नेपालको भनाइ छ।
विद्यार्थीहरुलाई मतदाता शिक्षा व्यवहारमा सिकाउन र निर्वाचन प्रणालीबारे ब्यबहारिक रुपमा ज्ञान दिनका लागि अभ्यास र विद्यालयमा निर्वाचन आयोगबाट मत पेटिका ल्याएर निर्वाचन गराइएको प्रधानाध्यापक नेपालले बताउनुभयो ।
निर्वाचन परिणाम घोषणापछि विद्यालय नायकलाई घोषणापत्र अनुसारको प्रतिवद्धता मन्तव्य समेत राख्न दिइएको थियो ।
मत परिणाम घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको प्रमुख आतिथ्य रहेको थियो।