धादिङ । नीलकण्ठ नगरपालिका वडा नंं ३ ले सार्वजनिक स्थलका खाली भित्ताहरुमा चित्र कोर्न सुरु गरेको छ ।
वडा अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार बजारको सौन्दर्य वृद्धि गर्ने उद्देश्यले सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्न सुरु गरिएको हो।
धादिङको चिनारीको रुपमा रहेको मौलिकता झल्कीने कला संस्कृति, धार्मिक तथा पर्यटकिय स्थलहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल व्यक्ती/खेलाडी लगायतको चित्र बनाईने योजना रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठका अनुसार अहिले एकजना चित्रकारको सहयोगमा नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालय, धादिङ बोड्रिङ स्कूल लगायतका विद्यालयमा गठन भएका बालक्लवका विद्यार्थीहरुले चित्र कोर्न सुरु गरेका छन् ।
यस कार्यले विद्यार्थीहरुको चित्रकला प्रतिभाको उजागरमा समेत टेवा पुग्ने भएकाले वडा कार्यालयको सिमित बजेटमा कामको सुरुवात गरिएको उहाँको भनाई छ ।
वडा कार्यालयको अगाडी खाली रहेको भित्तामा जिल्लाकै प्रसिद्ध धार्मिक स्थल भैरवी मन्दिर, पौवा घर, कराते खेलाडी एरिका गुरुङ, लाखे लगायतका चित्रहरु देख्न सकिन्छ ।
यो वर्ष बजेट अभावले थोरै मात्रै स्थानमा चित्र बनाईने र आगामी आर्थिक वर्षमा बजेट थप गरि बजार क्षेत्रको सार्वजनिक स्थलहरुको खाली भित्तामा थप चित्र बनाईने श्रेष्ठले बताउनुभयो ।