धादिङ । धादिङका सरोकारवाला निकायहरुले पृथ्वी राजमार्गका जोखिमयुक्त स्थानहरुको अनुगमन गरेको छ ।
वर्षातको समय सुरु हुँदै गर्दा जिल्ला समन्वय समिति धादिङको अगुवाइमा धादिङका प्रमुख जिल्ला अघिकारीसहित सुरक्षा निकायका प्रमुखहरु र नागढुंगा मुग्लिन सडक विस्तार आयोजनाका प्रमुखहरुले पृथ्वी राजमार्गका जोखिमयुक्त स्थानहरुको निरिक्षण गरेका हुन् ।
अघिल्ला वर्षहरुमा वर्षातको समयमा सडक माथीबाट आएको पहिरो र सडक नै भासिएर भएको दुर्घटनामा ठूलो धनजनको क्षति भएकोले यस वर्ष त्यस्ता क्षति रोकथाम गर्ने उद्देश्यले अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा विस्तारको क्रममा भइरहेको गतिविधि र आइपरेका समस्या र चुनौतिहरुबारे छलफल पनि गरिएको छ ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले पहिरो झर्ने र जमिन भासिने संभावित स्थानहरुमा बर्खाभर सडक विस्तारको काम नर्गने र विस्तार भइरहेको स्थानहरुमा पनि उच्च सावधानी अपनाएर सवारी संचालन गर्ने आयोजना प्रमुखहरुसँग सहमति भएको जानकारी दिनुभयो ।
उहाँले विपद परेको बेला तत्काल सहयोग गर्नका लागि आवश्यक सबै तयारी गरिएको बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले वर्षात भइरहेको बेला त्यस्ता विपदजन्य जोखिम रहेको स्थानहरुमा सवारी आवागनमा रोक लगाउन र जोखिम पहिचान गरेपछि मात्रै सवारी संचालन गर्न सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिनुभको छ।
उहाँका अनुसार निर्माणधिन सडकमा रहेका खाल्डाखुल्डीहरु तत्काल पुर्न, नालाहरु बनिरहेको स्थानमा पानी निकासको व्यवस्था मिलाउन र सडक संकेत चिन्ह थप गर्न विस्तार आयोजनालाई भनिएको र समन्वयमा काम गरिरहेको छ ।
भौगोलिक हिसावले पृथ्वी राजमार्गको ठाउँ ठाउँमा खोला, खोल्साहरु छन् ।
विस्तारको क्रममा भत्काइएका भित्ताहरु पहिरिने खतरा पनि उस्तै छ । त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडक, पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडकमा अहिले धमाधम विस्तारको काम भइरहेको छ ।
कमजोर भौगोलिक धरातल भएकोले वर्षातको समयमा पटक पटक झरिरहने पहिरो तथा चट्टान हटाई सुरक्षित तरिकाले यातायात संचालन गर्न सधैं चुनौति आइपरिरहेको आयोजनाका प्रमुखहरुले बताएका छन् ।
अति व्यस्त राजमार्गमा सडक विस्तार तथा पुल निर्माणको लागि सवारी साधनहरुलाई सुचारु राख्दै निर्माणको कार्य गर्नु चुनौतिपूर्ण रहेकोले पनि विस्तारको काममा अपेक्षित प्रगति हासिल गर्न कठिनाई रहेको उनीहरुको भनाई छ ।