काठमाण्डौ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगिता अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान पौने ८ बजेदेखी मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा शुरु हुनेछ ।
अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ ।
यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो ।
१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।
यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।
सेमिफाइनलका खेलहरु पर्सि बिहीवारदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ ।