काठमाण्डौ । नेपाल ह्याचरी उद्योग सङ्घले भोलिदेखि कुखुराको चल्ला उत्पादन र बिक्रीमा रोक लगाएको छ ।
लागत मूल्य नपाउँदा चल्ला उत्पादक किसानलाई समस्या परेको भन्दै नेपाल ह्याचरी उद्योग सङ्घले सदस्य उद्योगहरूलाई पत्र पठाएर असार २३ गते सोमवारदेखि २९ गते आइतवारसम्म बोइलर र कलर बोइलर अर्थात् कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय बारेमा जानकारी गराएको हो ।
पत्रमा २० गते शुक्रवारको बैठक अनुसार चल्ला उत्पादन नगर्ने जानकारी गराइएको छ ।दुई महिना अघिसम्म चल्लाको मूल्य एउटाको ५५ देखि ६० रुपैयाँ थियो ।
तर अहिले चल्ला २० देखि २५ रुपैयाँमा पनि नबिकेपछि उत्पादन र बिक्री बन्द गर्नुपरेको सङ्घले जनाएको छ ।
दुई वर्ष अगाडिसम्म ह्याचरी उद्योगमा तीन सय ५० बढी फर्म आबद्ध रहेकामा अहिले एक सयभन्दा पनि कममात्रै आबद्ध रहेका ह्याचरी सङ्घले जनाएको छ ।