२०८२ अषाढ २४, मंगलबार

त्रिशूलीमा ३ जनाको शवसँगै दुई वटा खुट्टा फेला भेटियो

  • धादिङ आवाज
  • २०८२ अषाढ २४, मंगलबार
त्रिशूलीमा ३ जनाको शवसँगै दुई वटा खुट्टा फेला भेटियो

धादिङ । धादिङस्थित त्रिशूली नदीमा ३ जनाको शवसँगै दुई वटा खुट्टा फेला परेको छ ।

गल्छी गाउँपालिका–२ केउरेनीटारस्थित खोला किनारमा एक पुरूषको शव, गजुरी गाउँपालिका–६ बेल्खुमा एक पुरुषको शव र बेनिघाट रोराङ गाउँपालिका–७ चरौदीमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुवास हमालले जानकारी दिनुभयो ।

हमालका अनुसार गजुरी गाउँपालिका–२ मलेखुमा दाहिने खुट्टा र बेनिघाट रोराङ गाउँपालिका–३ लामबगरमा त्रिशूली नदी किनारमा एउटा दाहिने खुट्टा फेला परेको छ ।

शव र खुट्टा पोष्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ पठाइएको छ ।

यसैगरी बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको हमालले बताउनुभयो ।

बेनिघाट रोराङ गाउँपालिका–७ की ८० वर्षिय राममायाँ चेपाङको चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गर्दै गर्दा बाढीले जलिरहेको चिता बगाएको हो ।

शव जल्दै गर्दा एक्कासी बाढी आएर बगाएको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।

रसुवाको नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित २० जना बेपत्ता भएका छन् । उनिहरुको खोजीकार्य भईरहेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदीको वहाव बढ्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै रसुवाको सिमावर्ती क्षेत्रमा र २४ घन्टा भित्र भोटेकोशीको जलाधार क्षेत्रमा बर्षा भएको नदेखीएकाले बाढीको उत्पति तिब्बत क्षेत्रबाट भएको र सो क्षेत्रमा थुप्रै हिमतालहरु अवस्थित रहेकाले हाल बाढी घढ्दो क्रममा रहेता पनि संभावित जोखिम रहिरहेको हुँदा त्रिशुली नदिको रसुवागढी देखी धादिङ जिल्लाको बेनीघाट सम्म नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बाढि पूर्वानुमान महाशाखाको उपरोक्त सूचना अनुसार त्रिशुली नदीमा बाढिको जोखिम कायमै रहेकोले अर्को सूचना नआउन्जेलसम्म पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले सडकको अवस्थाका वारेमा पुर्व सूचना लिएर मात्रै यात्रा गर्न र तटीय क्षेत्रका बासिन्दाहरुमा साविकमा झै सुरक्षा सतर्कता अपनाउन सूचनामा उल्लेख छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस