स्यादुल । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्यादुलमा वडा स्तरीय सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
चाइल्ड फण्ड जापान र प्रयास नेपाल धादिङको साझेदारीमा सञ्चालित “शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत परियोजनाबाट आर्थिक वर्ष २०८१/०८२ मा वडामा सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिहरूको कार्यान्वयन प्रक्रिया, लक्षित सहभागी, हासिल उपलब्धि, दिगोपनको योजना तथा खर्च विवरणसहित सबै सरोकारवालाबीच साझा गर्दै सुझाव संकलन गर्ने, मूल्यांकन गर्ने, र पारदर्शिता, जवाफदेहिता तथा सुसासनका आधारभूत मान्यता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सिताराम अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरू, पाँच विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघका प्रतिनिधिहरू, बाल क्लबका सदस्यहरू, शिक्षक, अभिभावक, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर कबिरराम वाठा मगर, स्पोन्सरशिप संयोजक श्रीकान्त लुइटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, परियोजना प्रबन्धक, लेखा तथा प्रशासन अधिकृत, फिल्ड कार्यक्रम अधिकृत लगायतको उपस्थिति रहेको कार्यक्रम परियोजना व्यवस्थापक सन्तोष सत्यालले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले दिएका सुझावहरूलाई आगामी वर्षको कार्ययोजना तयार गर्दा बिशेष महत्व दिईने र नतिजामुखी काममा केन्द्रित भएर सहकार्य गरिने प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले प्रतिबद्धता गर्नुभयो ।
स्थानीय स्तरमा राम्रो समनवय तथा सहकार्यमा कार्यक्रम र गतिविधिहरूमा उपलब्धिमुलक भई प्रशंसा रहेकोमा सबैलाई धन्यवाद दिदै भविष्यमा समेत सबै बिद्यालय र समुदायबाट निरन्तर सहयोग रहने विश्वास रहेको फिल्ड कार्यक्रम अधिकृत विनोद पोख्रेलले बताउनुभयो ।