काठमाण्डौ । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले भूटानसँग खेल्दै छ।
खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा शुरू हुनेछ ।
प्रतियोगितामा नेपाल र भूटानले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलले हराएको थियो ।
प्रतियोगितामा घरेलु टोली बङ्गलादेशसहित नेपाल, भूटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।
यसअघि नेपालले श्रीलङ्कासँगका दुई खेलमा पनि जीत निकालेको थियो । नेपालले श्रीलङ्कालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो ।
आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । बङ्गलादेशले चार खेलमा जीत निकालेको छ ।
अङ्क तालिकामा बङ्गलादेश १२ अङ्कका साथ शीर्ष र नेपाल समान खेलमा ९अङ्कका साथ दोस्रो स्थानमा छ ।
आज बेलुका बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् ।
नेपालले पर्सि सोमवार बङ्गलादेशसँग खेल्नेछ ।