२०८२ श्रावण १५, बिहिबार

बहुमत ल्याउने वातावरण बनाउन पार्टी एकता जरुरी रहेको देउवाको भनाई

  • धादिङ आवाज
  • २०८२ श्रावण ९, शुक्रबार
बहुमत ल्याउने वातावरण बनाउन पार्टी एकता जरुरी रहेको देउवाको भनाई

धादिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस धादिङका पुर्व सभापति स्वर्गीय भरत प्रसाद उप्रेतीको १३औं दिनको तिथिमा बिहिबार धुनिवेशी नगरपालिका-७ नौविसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा बहुमत ल्याउन पार्टी एकता जरुरी रहेकोले एकताको सुरुवात धादिङबाटै गर्न आग्रह गर्नुभयो ।

उहाँले बहुमत ल्याउने वातावरण सिर्जना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

देउवाले निर्वाचनसम्बन्धी व्यवस्थाका कारण नेपालका कुनै पनि पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने भन्दै संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने बताउनुभयो ।

सभापति देउवाले कार्यकर्तालाई सम्झाउदै भन्नुभयो,‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ। संविधानमा सबै जातिहरूको प्रतिनिधत्व भएको छ । एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ।’

यसैगरी सभालाई सम्बोधन गर्नुहुँदै कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने धारणा राख्नुभयो ।

कांग्रेस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, सशांक कोइराला लगायत केन्द्रिय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, पुर्व सभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै स्वर्गीय नेता उप्रेतीका विगतका संघर्ष सम्झदै प्रशंसा गरेका थिए ।

वि.स.१९८५ सालमा धादिङको नौबिसेमा जन्मिनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस