धादिङ । धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले समाचार प्रकाशन गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ केन्द्र, जिल्ला शाखा धादिङ र प्रेस चौतारी नेपाल धादिङको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शिक्षक सरुवा तथा विद्यालय समायोजनको विषयमा समाचार लेखेको भन्दै धादिङका पत्रकारहरु केशव अधिकारी र अनिल नेपालीलाई गाउँपालिकाका अध्यक्ष खतिवडाले धम्कि दिएको भन्दै पत्रकार महासंघ केन्द्र, धादिङ शाखा र प्रेस चौतारी धादिङले विरोध गरेका हुन् ।
पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराइ तथा फोन मार्फत धम्की दिएको विषय निन्दनीय र प्रचलीत कानुनको विरुद्ध तथा प्रेस स्वतन्त्रताको विरुद्धमा भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सिद्धलेक गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार गाउँपालिकाको वेबसाइटमा राखिएको सूचनामा उल्लेख भएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण गाउँपालिका अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको तथा हप्काएको विषयलाई गम्भीर रुपमा लिएको विज्ञप्तिमा भनिएको छ ।
विषयगत शिक्षक सरुवा भएपछि सिद्धलेक ७ को भालडाँडामा रहेको जाल्पा आधारभूत विद्यालयमा पठनपाठन प्रभावित भएको विषयमा धादिङ न्युजमा “सिद्धलेकका नौवटा विद्यालय बन्द गरिने” शीर्षकमा र बागमती कलममा “सिद्धलेकमा ९ वटा विद्यालय समायोजनः २८ जना शिक्षकको सरुवासँगै विद्यालय वर्गीकरण (विवरण सहित)” शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
समाचारको विषयमा चित्त नबुझेमा खण्डन गर्ने र प्रेस काउन्सिल मार्फत कानुनी प्रक्रियामा जानु पर्ने हुन्छ । तर धम्कि दिने कार्य प्रेस स्वतन्त्रता माथिको आक्रमण रहेको भन्दै सार्वजनिक रुपमा माफी माग्न र आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता गतिविधि नगर्ने प्रतिवद्धता जनाउन उनीहरुले माग गरेका छन् ।