काठमाण्डौ । महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ ।
हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा मनाइने महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि चढाउने गर्दछन् ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।
नवरात्रको अन्तिम दिन महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद भोली विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि समितिले भोली बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।