२०८२ कार्तिक १७, सोमबार

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा गाडी चलाउन रोक

  • धादिङ आवाज
  • २०८२ आश्विन १८, शनिबार
धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा गाडी चलाउन रोक

काठमाडौं । यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ । पानी परिरहेकाले धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ ।

मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले खुला छ । तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ । मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो । अहिले भने बाटो दुईतर्फी नै खुला रहेको प्रहरीले जनाएको छ । तर ढुङ्गा खस्ने क्रम जारी छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालका अनुसार यात्रामा जोखिम रहेकाले सवारी आवागमन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरी यात्रामा जोखिम भएकाले आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको जनाएको छ ।

चितवनको मुग्लिनस्थित तुइन खोलामा पहिरो लगायतका स्थानहरुमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई बिहान ६ बजेबाट चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ, जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा लेखिएको छ ।

धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो ।

प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो । तर फेरि करिब ६ बजेतिर माथिबाट पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । यो सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस