धादिङ । काभा पुरुष भलिबल नेसन्स लिग २०२५ का लागि नेपालको टोली घोषणा भएको छ।
आगामी कार्तिक ५ देखि ११ गते (अक्टोर २२-२८) सम्म बंगलादेशको राजधानी ढाकामा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाल भलिबल संघ (एनभीए) ले शनिबार बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो।
टोलीमा धादिङका दुई खेलाडी छनोट भएका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका मैदीका शरण सामरी क्षेत्री र नेत्रावति डवजोङ गाउँपालिका-४, थर्पुका रबिन नगरकोटी टोलीमा छनोट भएका हुन् ।
शरण त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् भने रबिन नेपाल पुलिस क्लबमा आवद्ध छन् ।
प्रतियोगिताको तयारी स्वरूप संघले १८ जना पुरुष खेलाडीको प्रारम्भिक टोली छनोट गरी यही असोज २ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो।
यसैक्रममा, नेपाल भलिबल संघको असोज २३ गते सम्पन्न ५७ औं कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टोली छनोटको जिम्मेवारी प्रशिक्षकहरूलाई दिने निर्णय गरेको थियो।
उक्त निर्णय अनुसार, असोज २३ र २४ गते सम्पन्न अन्तिम चरणको छनोट प्रक्रियामा सहभागी खेलाडीहरूबाट अन्तिम टोली छनोट गरिएको संघले जनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रशिक्षणमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा भरत यादव तथा सहायक प्रशिक्षकमा उत्सव खड्काले नेतृत्व गरिरहेका छन्।
संघले यहि प्रतियोगितालाई लक्षित गरि केही साताअघि यादवलाई नेपाली टोलीको मुख्य तथा खड्कालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो ।
यही प्रतियोगितामार्फत नेपाली पुरुष भलिबल टोली दुई वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किने तयारीमा समेत छ।
यस्तो छ, नेपाली टोली
१. धन बहादुर भट्ट क्षेत्री
२. धिरोज काजी वस्नेत
३. सुनिल बोहोरा
४. पहल गहतराज
५. शरण सामरी क्षेत्री
६. शैलेन्द्र यादव
७. विनोद चन्द
८. अर्जुन नेपाली
९. सफल विक
१०. रविन नगरकोटी
११. नृपध्वज वस्नेत
१२. हरि हजुर थापा
१३.सुजन सुनार
१४. सन्तोष राई
-मुख्य प्रशिक्षक: भरत यादव
-सहायक प्रशिक्षक: उत्सव खड्का
-व्यवस्थापक: प्रविन श्रेष्ठ