
काठमाण्डौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता आउँदो माघ ६ गतेलाई तोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ ।
त्यही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
उजुरीमाथि जाँचबुझपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि माघ ९ गते बिहान बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ ।
त्यही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह प्रदान गरिने छ ।
यस्तै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २० गतेदेखि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मङ्सिर २१ गतेदेखि २३ गतेभित्र आयोगमा निवेदन दिनुपर्नेछ ।
मङ्सिर २४ गते निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ । पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गर्ने कार्यतालिका छ ।
