
धादिङ । धादिङ अस्पतालले आफ्नो ४९औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमसहित वार्षिक उत्सव भव्य रूपमा मनाएको छ ।
विभिन्न स्वास्थ्य तथा सामाजिक गतिविधि गर्दै आएको अस्पतालले शुक्रबार एक विशेष समारोहको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले धादिङ अस्पतालमा विशेषज्ञ सेवाको दायरा थप विस्तार गरिने बताउनुभयो । उहाँले अस्पतालमा आवश्यकता अनुसार सिटी स्क्यान मेसिन जडानका लागि प्रस्ताव पेश गरिने बताउँदै हाल सञ्चालनमा रहेका डायलाइसिस सेवामा थप उपकरण थप्ने र आगामी दिनमा क्रमशः अन्य आधुनिक स्वास्थ्य सेवाहरू थपिने बताउनुभयो ।
अस्पतालको नाममा जग्गा नहुँदा बजेट कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै मन्त्री मगरले अस्पताल प्रयोगमा रहेको स्वास्थ्य विभागको नाममा दर्ता भएको करिब ३४ रोपनी जग्गा अस्पतालकै नाममा ल्याइने प्रक्रिया अघि बढाइने पनि जानकारी दिनुभयो ।
निकट भविष्यमा स्वामित्व हस्तान्तरण भई भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन सहज हुने उहाँको भनाई छ । धादिङमै नर्सिङ कलेज सञ्चालनको तयारीसमेत भइरहेको भन्दै उहाँले स्वास्थ्य ऐन पारित भइसकेकाले सय शैयाभन्दा माथि सञ्चालनमा रहेका अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्न सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यसले धादिङका विद्यार्थीहरूलाई नर्सिङ अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले पछिल्लो समय अस्पतालले उल्लेखनीय प्रगति गरेको भन्दै विशेषज्ञ सेवा थपिनुले अस्पतालको सेवा प्रभावकारी बनेको उल्लेख गर्नुभयो ।
समारोहकै क्रममा अस्पतालका निमित्त अस्पताल निर्देशक डा.त्रिभुवन चन्द्र झाले लेख्नुभएको ‘गुडबाइ सुगर एडिक्सन’ पुस्तक समेत विमोचन गरिएको छ । पुस्तकमा मधुमेह हुने कारण, रोकथामका उपाय तथा सावधानीका विषय समेटिएको छ ।
वार्षिक उत्सवकै अवसरमा अस्पतालले पत्रकार, अस्पतालसँग सहकार्य गर्ने संस्थाहरू र विभिन्न विधामा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान प्रदान गरिएको छ । कर्मचारीबीच आयोजित खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरणसमेत गरिएको थियो ।
