
धादिङ– सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङले ८० लाख ५८ हजार भन्दा बढी मुनाफा गरेको छ ।
सिद्धलेक गाउँपालिका–२ स्थित नलाङको ठाँटीभञ्ज्याङमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ मा ८० लाख ५८ हजार ६८३ मुनाफा आर्जन गरेको हो ।
शनिबार ठाँटीभञ्ज्याङमा संस्थाको १८ औं वार्षिक साधारणसभा भएको थियो ।
साधारणसभामा सहकारीका अध्यक्ष तिलक सिंखडाले प्रगती विवरण, सहकारीकी प्रबन्धक अम्बिका नेउपाने सिलवालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक ईश्वरी अर्यालले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रगती विवरण प्रस्तुत गर्दै सहकारीका अध्यक्ष तिलक सिंखडाले आर्थिक वर्ष २०८१÷८२ मा संस्थाको कुल शेयर पूँजी रकम रु.२ करोड ७७ लाख ८७ हजार ५ सय, साधारण जगेडा कोष रु. ३ करोड ४४ लाख ४९ हजार ७ सय ४८, अन्य कोष तर्फ रु. १ करोड १४ लाख र निक्षेप तर्फ १६ करोड १२ लाख ४५ हजार गरि कूल आन्तरिक पूँजी रु. २३ करोड ४८ लाख ८२ हजार ५ सय ३५ रहेको बताउनुभयो ।
आर्थिक वर्ष २०८१/८२ मा संस्थाले रु.५ करोड ६४ लाख ४६ हजार ६४४ आम्दानी र रु. ४ करोड ८३ लाख ८७ हजार ९६० खर्च गरि रु.८० लाख ५८ हजार ६८३ नाफा कमाउन सफल भएको अध्यक्ष सिंखडाले बताउनुभयो ।
२०६५ सालमा स्थापना भएको सहकारीमा हाल २ हजार १०७ जना सदस्य, १ हजार ५२५ जना शेयर सदस्य, ५८२ जना बाल सदस्य र २४६ वटा समुहहरु रहेको सहकारीकी प्रबन्धक अम्बिका नेउपाने सिलवालले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ मा संस्थाको शेयर सदस्यहरुसँग ३० करोड ५२ लाख २१ हजार ९१८ ऋण लगानी रहेको प्रबन्धक सिलवालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष डिल्ली प्रसाद पाठकले साकोसको वित्तीय अवस्था अत्यन्त मजबुत रहेको बताउनुभयो । उहाँले सहकारीप्रतिको नकारात्मक धारणाका बिच पनि यस संस्थाले हासिल गरेको सफलताले मुलुकको सहकारी अभियानको विरासत जोगाउनमा टेवा पुगेको बताउनुभयो ।
पाठकले नागरिकको आर्थिक विकासका लागि सहकारीको महत्वपुर्ण भुमिका रहने भन्दै सहकारीको पुंजीलाई उत्पादनसंग जोड्न सके मात्र शेयर सदस्यको जिवनस्तर सुधार हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरुले कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा साना किसान कृषि सहकारीहरुले ठूलो योगदान गरेको र सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए ।
कार्यक्रमको अवसरमा असल ऋणी सदस्यलाई सम्मान गरिएको थियो भने सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने बिधार्थीलाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट कृषक व्यवसायीहरुलाई प्रमाण पत्रसहित नगद, उत्कृष्ट बचतकर्ताहरु, बाल बचतकर्ता र उत्कृष्ट अन्तरसमुहलाई प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।
सहकारीका अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी संघ लि. धादिङका अध्यक्ष अप्सरा अधिकारी, साना किसान लघु बित्त बित्तिय संस्था शाखा कार्यालय गजुरीका बरिष्ठ सहायक किशोर अधिकारी, साना किसान कृषि सहकारी नलाङका संस्थापक अध्यक्ष कृष्ण प्रसाद अर्याल, पूर्वअध्यक्ष कमल बहादुर गुरुङ, सिद्धलेक गा.पाका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवालको आतिथ्य रहेको थियो।
संस्थाले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउने सोच अनुरूप चालु आर्थिक बर्षको अन्त्य सम्ममा १ करोड ६१ लाख १६ हजार नाफा नाफा गर्ने प्रक्षेपण गरेको छ भने आ.व को अन्त्यमा आन्तरिक श्रोत २५ करोड ४८ लाख ८० हजार ५३५ पुर्याईने प्रक्षेपण गरेको छ ।
