
धादिङ । धादिङबेशीमा भोलीदेखि सुरु हुने स्व.मनोज श्रेष्ठ स्मृती कप बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम धादिङबेशी स्थित कभर्डहल परिसरमा हुने ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी हुने अध्यक्ष गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक सहभागी हुनेछन् ।धादिङबाट टिम ‘ए’ र ‘बि’ रहने र अरु जिल्लाबाट १/१ टिम रहने अध्यक्ष गुरुङले बताउनुभयो ।
सहभागी टिमहरुलाई चार समूहमा बिभाजन गरिएको छ। जस्मा समूह ए मा धादिङ,मकवानपुर र सिन्धुली रहेको छ भने समूह बि मा नुवाकोट र रामेछाप रहेको छ ।
त्यस्तै समूह सि मा चितवन सिन्धुपाल्चोक र समूह डी मा रसुवा र धादिङ बी रहेको छ ।
पत्रकार सम्मेलनमा खेल तालिका समेत सार्बजनिक गरिएको छ ।
जसअंतरगत पहिलो खेल भोलि बिहान ८ बजे धादिङ टिम ए र मकवानपुरबीच हुनेछ भने उद्घाटन खेल दिउँसो २ बजे धादिङ टिम ए र सिन्धुलीबीच हुनेछ ।
प्रतियोगिताको उद्घाटन गजुरी गाउँपालिका अध्यक्ष गणेश श्रेष्ठले गर्ने तय भएको संघका सचिब बिकास कोइरालाले बताउनुभयो।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता पौष १२ गतेसम्म संचालन हुनेछ।
