
धादिङ । धुनिवेशी नगरपालिका-५ स्थित महादेवस्थान माध्यमिक विद्यालयले आफ्नो ३७औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। वार्षिकोत्सवको अवसरमा विविध शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रम गरिएको थियो । यस्तै कार्र्यक्रमकै अवसरमा विद्यालयको नवनिर्मित ८ कोठे भवन उद्घाटन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका निवर्तमान गरिबी निवारण तथा सहकारी मन्त्री मधुकुमार श्रेष्ठ तथा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको बिशेष आतिथ्य रहेको विद्यालयका सहायक प्रधानाध्यापक हरिवहादुर राईले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवप्रसाद रूपाखेतीले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै विद्यालयमा सञ्चालन भइरहेका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप र भावी योजनाबारे जानकारी गराउनुभएको थियो।
समारोहमा कक्षा १ देखि १० सम्म प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरू, २०८१ सालको एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल विषय शिक्षकहरू, विद्यालयलाई नियमित सुझाव दिने अभिभावक तथा एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा र उनका अभिभावकलाई सम्मान गरिएको शिक्षक दीपक भट्टले जानकारी दिनुभयो ।
साथै चालु शैक्षिक सत्रभरि सञ्चालन भएका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल प्रदान गरिएको थियो।
विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै भौतिक पूर्वाधार विकासमा निरन्तर प्रगति गरिरहेको सरोकारवालाहरूले बताएका छन्। 

