
धादिङ । धादिङमा गणितीय हाजिरजवाफ प्रतियोगिता हुने भएको छ ।
गणित शिक्षाको स्तर अभिवृद्धि गर्ने उद्देश्यले गणित शिक्षा परिषद् जिल्ला शाखा धादिङको आयोजनामा फागुन ७ गते जिल्लास्तरीय गणितीय हाजिरजवाफ प्रतियोगिता हुने भएको हो।
नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बालमन्दिर मावि धादिङबेसीमा हुने प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने समूहलाई क्रमश नगद ६ हजार, ४ हजार ५ सय, ३ हजार, १ हजार ५ सय पुरस्कारसहित मेडल, प्रमाण–पत्र, ट्रफी तथा शैक्षिक सामग्री प्रदान गरिने गणित शिक्षा परिषद् धादिङका सचिव उक्त भट्टले जानकारी दिनुभयो ।
दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरणमा बहुवैकल्पिक प्रश्नमार्फत छनोट गरिनेछ भने दोस्रो चरण (अन्तिम चरण) मा समूह र अंक गणित, क्षेत्रमिति, बीजगणित, तथ्याङ्क, ज्यामिति, भेक्टर, Visual Round, Rapid Fire र Buzzer Round लगायतका प्रतिस्पर्धात्मक चरणहरू समावेश गरिनेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरूले फागुन १ गतेभित्र अनिवार्य सम्पर्क गर्नुपर्ने आयोजकले जनाएको छ। दर्ता निःशुल्क रहेको छ।
गणित विषयप्रति सकारात्मक धारणा उच्च स्तरको ज्ञान तथा प्रतिस्पर्धात्मक सिपको विकास हुने उद्देश्यले परिषद्ले विगतका वर्षहरुमा पनि गणितीय हाजिरीजवाफ प्रतियोगिता गर्दै आएको थियो ।
प्रतियोगितामा १ जना गणित शिक्षक सहित ३ जना विद्यार्थी सहभागि हुनुपर्ने आयोजकले जनाएको छ ।
गणित शिक्षा परिषद् धादिङका अध्यक्ष प्रयास रेग्मीका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा गणित विषयप्रति रुचि, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने अपेक्षा गरिएको छ ।

