
काठमाण्डौ । भोलि मङ्गलवार रातिदेखि नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने मौसमविद्ले बताएका छन् ।
भोलि बेलुकासम्म गण्डकी क्षेत्र र पर्सि बुधवार बिहानसम्म काठमाण्डौ उपत्यका आसपास आइपुग्ने प्रणालीले काठमाण्डौमा पनि वर्षा गराउने सम्भावना रहेको मौसम तथा पर्यावरणविद् उज्जवल उपाध्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैजसो हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा भने २ हजार मिटरभन्दा अग्लो भूभागमै हिमपात हुनेछ । दार्चुला, डडेल्धुरा, बझाङ, हुम्ला, मुगु, डोल्पा, जुम्ला, मुस्ताङ र मनाङमा अत्यधिक हिमपात हुन सक्छ ।
तराईमा पर्सादेखि पूर्व र पहाडमा सिन्धुलीदेखि इलामसम्मको चुरे र महाभारत क्षेत्रमा भने वर्षाको सम्भावना निकै कम छ । बाँकी भूभागमा सामान्यदेखि मध्यम वर्षा हुनेछ ।
बिहीवारसम्म मौसम बदली भएर त्यसपछि मात्र घाम लाग्ने मौसमविद्को अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको ३ दिनको मौसम विवरणमा पनि भोलि र पर्सि पश्चिमी वायुको प्रभावका कारण देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख छ ।
