२०८३ जेष्ठ २०, बुधबार

विश्वभरका शैक्षिक संस्थामा साइबर आक्रमण

  • धादिङ आवाज
  • २०८३ बैशाख २७, आईतबार
विश्वभरका शैक्षिक संस्थामा साइबर आक्रमण

विश्वभरका हजारौं शैक्षिक संस्थामा प्रयोग हुँदै आएको अनलाइन शिक्षण प्लेटफर्म ‘क्यानभास’ साइबर आक्रमणको निशानामा परेको छ ।

आक्रमणका कारण अमेरिका, क्यानडा र अष्ट्रेलियाका विश्वविद्यालय तथा विद्यालयहरूको परीक्षा, असाइनमेन्ट र नियमित कक्षा सञ्चालन प्रभावित भएका छन् ।

बीबीसीका अनुसार ‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणपछि केही समय क्यानभास सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो, जसका कारण विश्वभर करिब ९ हजार शैक्षिक संस्था प्रभावित बनेका छन् ।

विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रिनमा बिटक्वाइनमार्फत फिरौती मागिएको सन्देश देखिएको बताइएको छ । ह्याकर समूहले क्यानभास सञ्चालन गर्ने कम्पनी ‘इन्स्ट्रक्चर’लाई रकम नतिरे संवेदनशील डाटा सार्वजनिक गर्ने चेतावनीसमेत दिएको खबरमा उल्लेख छ ।

साइबर आक्रमणपछि अमेरिकाका विभिन्न विश्वविद्यालयहरूले परीक्षा र शैक्षिक गतिविधिमा असर परेको जनाएका छन् । मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ भने पेन स्टेट, इडाहो स्टेट र क्यालिफोर्निया विश्वविद्यालयले पनि असाइनमेन्ट तथा अनलाइन कक्षामा समस्या आएको बताएका छन् ।

अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले विद्यार्थीलाई केही समय क्यानभासमा लगइन नगर्न आग्रह गरेको छ । क्यानडाका ब्रिटिस कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षासम्बन्धी जोखिम देखिएको बताएका छन् ।

घटनापछि विद्यार्थीहरूमा परीक्षा तथा असाइनमेन्ट हराउने र व्यक्तिगत विवरण चुहिने चिन्ता बढेको छ ।

क्यानभास सञ्चालन गर्ने कम्पनी ‘इन्स्ट्रक्चर’ले अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालनमा आइसकेको जनाएको छ । तर केही शैक्षिक संस्थामा समस्या अझै पूर्ण रूपमा समाधान हुन नसकेको बताइएको छ ।

यस घटनाले अमेरिकासहित विभिन्न देशमा साइबर सुरक्षालाई थप सुदृढ बनाउनुपर्ने बहस तीव्र बनेको छ । अमेरिकी संसद्का नेताहरूले एआई प्रविधिको विस्तारसँगै बढ्दो साइबर जोखिम नियन्त्रण गर्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस