२०८३ जेष्ठ २०, बुधबार

कृषि उपज केन्द्र निर्माण कार्य अन्तिम चरणमा

  • धादिङ आवाज
  • २०८३ जेष्ठ ३, आईतबार
कृषि उपज केन्द्र निर्माण कार्य अन्तिम चरणमा

सिद्धलेक । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित डुम्रेखोलामा कृषि उपज केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको १० लाख रुपैयाँ लागतमा स्थानिय किसानले उत्पादन गरेका तरकारी तथा फलफूलको संकलन र बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले केन्द्र निर्माण भइरहेको वडा अध्यक्ष पेमा वाङ्ग्याल लामाले बताउनुभयो ।

उहाँका अनुसार उक्त स्थानमा कृषि उपज केन्द्रसँगै ३ वटा सार्वजनिक शौचालय समेत निर्माण भइरहेको र जेठ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको वडा अध्यक्ष लामाले बताउनुभयो।

उक्त स्थानमा यसअघि नै वडा कार्यालयको २ लाख रुपैयाँ लगानीमा पानी ट्यांकी तथा धारा निर्माण गरिएको छ। मलेखु-धादिङबेशी सडक (कालुपाण्डे मार्ग) अन्तर्गत पर्ने डुम्रेखोला क्षेत्र पछिल्लो समय यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित हुँदै गएको छ।

श्री ठूलो सामुदायिक बन क्षेत्रमा पर्ने यस स्थानमा पहिलेदेखि नै प्रतीक्षालय रहेको भए पनि वर्षायाम सँगै अन्य समयमा यात्रुहरूलाई बस्ने पर्याप्त स्थान नहुँदा समस्या हुँदै आएको थियो ।

कृषि उपज केन्द्र निर्माणपछि यात्रुहरूलाई समेत सहज हुने विश्वास गरिएको छ । पछिल्लो समय सडक यात्रा गर्ने नागरिकहरूका लागि डुम्रेखोला थकाइ मार्ने गन्तव्य बन्दै गएको स्थानीयको भनाइ छ ।

कृषि उपज केन्द्र सञ्चालनमा आएपछि स्थानीय किसानहरूले आफ्नै उत्पादन सोही स्थानबाट बिक्री वितरण गर्न पाउने र स्वरोजगार बन्न सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो।

कृषि उपज केन्द्रले स्थानीय उत्पादनलाई बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष लामाको भनाइ छ।

उहाँले भन्नुभयो, “यो स्थान बन क्षेत्रभित्र पर्ने र लुटपाट, चोरी जस्ता अपराधिक घटनाहरु हुने गरेकाले सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा सिसिटिभी क्यामेरा र बत्ती समेत जडान गर्ने लक्ष्य राखेका छौं ।”

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस