
काठमाण्डौ । नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ ।
भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि निर्यात पूर्ण रूपमा ठप्प भएको हो ।
भारतको नीतिगत कडाइका कारण वार्षिक पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीले बताएका छन् ।
अहिले चिया निर्यातको मुख्य सिजन हो ।
उहाँकाअनुसार अहिले झण्डै पाँच लाख किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ । तर भारतीय पक्षको नयाँ र कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजान सकेका छैनन् ।
दुई हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन सकेको छैन । यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एक पटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो ।
तर, नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्ङ्की भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भएको छ ।
प्रतिट्रक नमुना परीक्षणका लागि १८ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने हुन्छ ।
