
धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा गजुरी गाउँपालिका–५ निवासी ५२ वर्षीय सोमबहादुर राई रहेका छन्। दुर्घटनामा उनकी श्रीमती ५५ वर्षीया माया राई गम्भीर घाइते भएकी छन्।
बिहिबार काठमाडौंबाट भारततर्फ जाँदै गरेको युके ०७ पिए १७१८ नम्बरको बसले सडक पार गर्दै गरेका दम्पतीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
दुर्घटनापछि घाइते दुवैलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते माया राईलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
